General News

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो ! भाइ बचाउन पार्वतीको याचना !

दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा ।

ज्वालामुखी गाउँपालिका–५ धादिङकी राधिका बयलकोटीको परिवार समस्याको भूमरीमा चलिरहेको छ ।सीताराम बयलकोटीले ज्याला मजदुरी गरेरै भएपनि दुख सुखले परिवार चलेको थियो ।

तर एक्कासी बयलकोटी बिरामी पर्नुभयो । पेटको रोगी त्यसमा पनि टाइफाइटले थलिनु भएका उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएन । परिवारको आशा बन्नुभएका सीताराम अस्पताल लैजाँदै गर्दा बाटोमै ढल्लेपछि कहिल्यै उठ्न सक्नुभएन । उहाँसँगै परिवारको खुसी पनि उठ्न सकेन । ३८ वर्षिय सीताराम बयलकोटीले २०७३ मंसिर २६ गतेबाट सदाका बिदा लिनुभयो ।

पूरै परिवार सीतारामको भरमा थियो । सीतारामको मृत्युपछि मियो ढलेको दाँइ जस्तै भयो उनको परिवार । सुखदुख सँगसँगै गरौंला, सँगै जिउला, सँगै मरौला भन्ने श्रीमान भगवानको प्यारो भएपछि श्रीमती दुर्गा चर्माकारको काँधमा जिम्मेवारी आइप¥यो । आफैं रोगी मान्छे त्यसमा पनि श्रीमानलाई गुमाएको पीडाले थलिनुभएकी दुर्गाको परिवार झण्डै दुई महिना अभावमै चल्यो । बुबाको मृत्युपछि बालबच्चाहरुको दुई मुठ्ठी सास आमाको भरमा धानिएको थियो । दुई छाक जोहो गर्न मुस्किलले चलेको परिवारमा उपचारमा लाग्ने खर्च निकै कठिनसँग जुटेको थियो ।

तर आन्द्राको क्यान्सरले थलिनुभएकी दुर्गाले रोगसँग लड्दा लड्दै आफ्नै लागि दुई मुठ्ठी सास बचाउन सक्नुभएन । अन्ततः काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहँुदै ३६ वर्षीया दुर्गाको पनि २०७३ माघ १९ गते ज्यान गयो ।झण्डै दुई महिनाको बिचमा आमाबुबा गुमाएपछिका दुख, पीडा त छदंैछन् छोराछोरीले पेटभरी खान समेत पाएका छैनन् ।

सीतारामका १७ वर्षीया छोरी पार्वती, १३ वर्षीय प्रकाश र २ वर्षीय इराक बयलकोटी ढुङ्गा खाउँ कि माटो भएका छन् । बुबाआमाको ज्यान गएपछि टुहुरा बनेका उनी ठूलोबुबा चुनबहादुरले बनाइदिनुभएको टहरामा बस्दै आएका छन् ।

ठूलोबुबा चुनबहादुरको परिवार र छिमेकीहरुको सहयोगमा मुस्किलले चुलोमा आगो बलेको छ । तर चुनबहादुरलाई आफ्नै घर खर्च चलाउन समस्या छ ।अरुको सहयोगमा आफ्नो र भाइको पटे भर्न नसकेपछि पार्वती २ वर्षको भाइलाई छाडेर काममा जान थालेकी छिन् । ‘सधै काम पाइदैन ।

कहिलेकाँही कमाएको १/२ सय रुपैयाँले सधैलाई पुग्दैन । भाइहरु जतिखेरै भोक लाग्यो मात्र भन्छन्, दिउँ केही छैन । एक छाक खाएर म त बाँचुला तर भाइहरुलाई कसरी बचाँउ ?’ पार्वतीले गहभरी आँसु पादै प्रश्न गर्नुभयो ।बुबाआमा गुमाएको पीडा समेत भुल्न नसकेकी पार्वतीले भनिन् ‘रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि सक्दिन होला । कसैले सहयोग गरेदेखि बुबाआमा गुमाएको घाउमा मलम लाग्थ्यो कि ।’बुबाआमा गुमाएदेखि बिचल्लीमा परेका यी टुहरा बालबालिकाहरु अहिलेसम्म उस्तै अवस्थामा छन् ।

विहान उठेदेखिनै उनीहरुको दैनिकी समस्यै समस्यामा बितेको छ । पाइलै पिच्छे पहाड जस्तै उभिएका समस्याहरुबाट मुक्ति पाउन सकेका छैनन् ।आफूहरु टुहुरा भएको भन्दै धेरै मानिस आएर ओत लाग्ने छानो बनाइदिन्छु, पालनपोषण गरिदिन्छु भन्ने आएपनि अहिलेसम्म आफ्नो समस्या जस्ताको तस्तै रहेको पार्वतीले गुनासो गरिन् । ujyaaloonline बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *