General News

चाडवाडमा चेपाङका दुख : दसैं त नआइदिए नी हुन्थ्यो !

मकवानपुर : देशभर दसैंको रौनक छाएको छ । यहाँको चेपाङ समुदायलाई भने त्यो रौनकले छुनै सकेको छैन ।

गाउँ डुलेर, जंगलमा कन्दमुल खोजेर गुजारा चलाउने चेपाङ समुदायका केटाकेटी दसैं लागेदेखि नै गाउँ निस्केका छैनन् । दसैंमा नयाँ कपडा किनिदिने बावुआमाको बाचा पूरा हुन नसकेपछि केटाकेटी ओडारमै मन खुम्च्याएर बस्न बाध्य भए ।

राक्सिराङ–७ काँकडास्थित धिराङ प्राविमा कक्षा ४ मा पढ्दै गरेकी १० वर्षीया सुनिता चेपाङलाई नयाँ कपडा लगाएर दसैंमा साथीभाईलाई देखाउने मन थियो । तर तीन वर्षअघिको विद्यालयको पोशाकमै चित्त बुझाउनु पर्ने भयो । ‘साथीहरु नयाँ नयाँ लुगा लगाउँछन्, गाउँ डुल्न मन लाग्दैन,’ सुनिताले भनिन्, ‘मेरो त लुगा नी च्यातिएको छ । साथीहरुले जिस्क्याउँछ मात्र ।’

सुनिताका बावु मिलन र आमा लक्ष्मी चारैतिर खुल्लै रहेको झुप्रोमा आगो बाल्दै केही पकाइरहेका छन् । माछा–मासु, मीठो–मसिनो केही पकाउँदै पनि छैनन् उनीहरु ।गाउँमा दसैंको माहोल छ । यता चेपाङको झुप्रोमा भने उमंग छैन । ‘जस्तो भए नी छोरा छोरीलाई नयाँ लुगा किनिदिन मन त थियो । तर सकिएन यसपल्ट,’ सुनिताका बावु मिलन चेपाङले भने ।

मिलनको सम्पत्तिको नाममा एउटा झुप्रो घर, पाँच रोपनी ऐलानी खोरिया बारी र एउटा ओढार छ । तीन पुस्ताले ओढारमा जीवन बितायो । तीनपुस्ते पुरानो ओढार छोडेर मिलन भने खुल्ला ठाउँमा बस्न थालेको तीन वर्ष भयो ।

ओढारमै जन्मेर हुर्केका मिलनले त विद्यालयमा पाइला टेक्ने मौका पाएनन् छोराछोरीलाई चाहीँ विद्यालय पठाएका छन् । गाउँका साथीको देखेरै पनि छोराछोरीलाई चाडवाडमा नयाँ लुगा लगाउन मन लाग्दो रहेछ । मिलन यसपटक आफ्ना सन्तानको मन बुझाउनै नसकेको बताउँछन् । ‘चाडवाडहरु त नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ,’ मिलनले दुखी हुँदै भने ।

दमका कारण बिरामी मिलन गाउँमै ज्याला मजदुरी गर्छन् । काठ चिर्ने र चितवनको भण्डारा हुँदै धादिङको मलेखु निस्कने निर्माणाधिन चेपाङ मार्गमा रहेको दुङ्थलीबाट सामान ओसार्ने भरियाको काम गर्छन् । सहरमा गए राम्रो ज्याला पाइन्छ भन्ने उनले सुनेका त छन् तर जाने आँट छैन । काठ चिरेको ज्याला पनि पैसा नआएर मकै कोदो मात्रै आउने बताउँछन् मिलन । मौसमी भारी बोकेको पैसाले भने घरखर्च चल्दो रहेछ । बारीको उब्जनीले त तीन महिना पनि खान पुग्दैन ।

मिलन दुई वर्षको छँदा आमा बितिन् । १४ वर्ष हुँदा बुवा पनि बितेपछि हातमुख जोर्न उनी आफैँलाई जिम्मेवारी थपियो । उनका बुवाको ओढारमै झाडापखाला लागेर मृत्यु भएको थियो । घर चलाउन ज्याला मजदुरी गर्न तनहुँ पुगेका मिलनले १८ वर्षको उमेरमा तनहुँकी लक्ष्मीसँग विवाह गरेका थिए । प्रेम विवाह गरेका लक्ष्मीलाई ओढारमै भित्र्याएका थिए मिलनले ।

घरमा अन्नपात सकिँदा लक्ष्मी जंगलमा कन्दमुल खोज्न जान्छिन् । लक्ष्मीको दुखेसो छ, ‘खोरियामा रोपेको मकै बाँदरले आधा खाइदिन्छ । थोरै मकै पनि ब्याज तिर्दा ठिक्क । आफूले नखाएर पनि छोराछोरीलाई चाडवाड मनाइदिन पाए हुन्थ्यो । अहिले त गाह्रो भयो ।’

कृष्ण सारु मगर/ Annapurna Post

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *